हलवालाको मनोमानी विरुद्ध निर्माता संघ र निर्देशक समाजको ध्यानाकर्षण

बलिउड सिनेमा ‘ब्रमास्त्र’को सेन्सर नभएको कारण नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’को शो नखोलेको विषयमा नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्देशक समाजको ध्यानाकर्षण भएको छ ।

दुवै संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सिनेमा माथिको थिचोमिचो रोक्न र विदेशी सिनेमा सरहको समान व्यवहार गर्न आग्रह गरेका छन्।

निर्माता संघका अध्यक्ष नवल खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘स्वदेशी सिनेमाको प्रदर्शनमा साथ् र सहयोग गर्नुपर्नेमा उल्टै यस्ताखाले गैरव्यवसायिक रवैया देखाई स्वदेशी निर्मातालाई निमोठ्ने बाटोमा लाग्नु आफैमा खेदजनक छ । किन हाम्रा नेपाली सिनेमाहरुलाई बारम्बार पेल्न र हेप्न खोजिन्छ ? यसको ठोस जवाफ अब सिनेमा प्रदर्शक साथीहरुले दिनै पर्दछ ।’

‘हामीले अरु कसैको हक खोसेको हैन खालि समान हकको सुनिश्चितता मात्र खोजेका हौं । तपाईहरु संस्थागत सहमतिलाई सधै झारो टार्ने दृष्टिकोणको रुपमा मात्र चित्रण गर्नु खोज्नु भएको हो ? हामि विनम्रताका साथ् सिनेमा प्रदर्शक साथिहरुसंग अनुरोध गर्न चाहन्छौं कि भोलिबाट प्रदर्शनमा आउने सिनेमा ‘ऐना झ्यालको पुतली’लाई समान हैसियतको शोज र अग्रिम बुकिङ खुल्ला गर्ने वातावरण बनाइदिनु होस् अन्यथा नेपाली सिनेमाप्रति तपाईहरुले देखाउनु भएको निन्दनीय व्यवहारका विरुद्ध बाध्य भइ कडा रुपमा प्रस्तुत भइ निरन्तर संघर्षमा उत्रिनेछौं ।’ विज्ञप्तिमा अगाडी लेखिएको छ ।

यस्तै महासचिव जनकदीप पराजुलीले जारी गरेको निर्देशक समाजको विज्ञप्तिमा बिभिन्न कारण देखाई सेन्सर भएको नेपाली सिनेमालाई शोज दिनमा ढिलाई गर्नु खेदजनक रहेको उल्लेख गरिएको छ ।

‘समयमा नै आफ्नो सामानको बिक्री मुल्य तय गरि अग्रिम रुपमा समान बेच्न पाउने अधिकार संसारभरि नै प्रचलित छ । सोहि अनुरुप नेपालमा पनि सिनेमा निर्माताहरुले केहि वर्षदेखि यता सिनेमा घरहरु मार्फत २/३ दिन अगाडी देखि नै आफ्नो प्रचार प्रसार गरि सिनेमाको टिकट बुकिङ खुल्ला गर्ने र बिक्री गर्ने गरिएको सर्ब बिधितै छ । यस्तो अवस्थामा हालसालै नेपालका सिनेमा घरहरुले हिन्दि सिनेमाको सेन्सर भएको छैन भनि बिभिन्न कारण देखाई समयमै सेन्सर भैसकेका आउने शुक्रबारदेखि प्रदर्शन हुने नेपाली सिनेमाको टिकट बुकिङ खुल्ला गर्न ढिलाई गर्नु खेदजनक छ । सधैभरि नेपाली सिनेमा माथि विदेशी सिनेमाहरुले दबाबमा राख्ने यस्तो प्रवृत्तिको हामि घोर भत्सर्ना गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले यस्ता किसिमका कार्यहरु रोक्न अपिल गरेको छ । साथै अभिभावक संस्था चलचित्र बिकास बोर्डलाई नेपाली सिनेमालाई हतोत्साहित पार्ने गैरजिम्मेवारी कार्यहरु बन्देज गराउन आग्रह गरेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउने ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा: बिनिथ द ब्रेभरी’ले बिहिबार दिउँसो ३ बजेसम्म शो पाउन सकेका छैनन् ।

सेन्सर अगाडी नै विदेशी सिनेमालाई शो दिने प्रचलन बढेपछि चलचित्र बिकास बोर्डले सेन्सर अगाडी हललाई बुकिङ कोड नदिने निर्णय गरेको थियो । त्यसै अनुरुप बोर्डको कोड पर्खिएका मल्टिप्लेक्सले सेन्सर नै सकिएका नेपाली सिनेमालाई अगाडी नै शो दिन मानेका छैनन् ।

यस विषयमा अहिलेसम्म चलचित्र बिकास बोर्ड र नेपाल चलचित्र संघ जस्ता अग्रणी संस्थाले आधिकारिक धारणा व्यक्त गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings